रोल्पामा बस दुर्घटना, १५ जना घाइते तीन जनाको अवस्था गम्भीर

रोल्पा, २३ साउन । रोल्पामा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेकाे छ ।

रोल्पाबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्गअन्तर्गत सडकबाट खसेर दुर्घटना भएकाे हाे ।

बस दुर्घटनामा परी १५ यात्रु घाइते भएको छ भने तीन जनाको अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारूमगरले जानकारी दिनुभयाे ।

डिएसपी सारूमगरका अनुसार घाइते १० पुरूष र पाँच महिला उद्धार गरी स्थानीय मेडिकल र स्वास्थ्य चौकीमा उपचारका लागि पठाइसकेकाे र घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकाे छ ।

बस सडकबाट करिब ९० मिटर तल खसेको प्रहरीले जनाएकाे छ । वर्षाले सडक चिप्लो भएकाले दुर्घटना भएको अनुमान प्रहरीको छ।