एक क्विन्टल सुन तस्करी प्रकरण : प्रतिनिधिसभाको बैठक २६ गतेसम्म स्थगित
काठमाडाैं, २४ साउन । नेकपा एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान राखेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
बुधबार सुरुभएकाे बैठकमा एमालेका सांसदहरूले उठेर अवरोध कायमै राखेपछि २६ गतेसम्मका लागि स्थगित गरिएको हाे ।
बैठक सुरु हुने बित्तिकै एमाले सांसद सूर्य थापाले पार्टीको धारणा राख्दै थिए । सत्तापक्षका सांसदले उठेर त्यसको विरोध जनाए ।
थापाले बोलेपछि एमाले सांसदहरुले सभामुखको वेल घेराउ गर्दै उच्चस्तरीय छानबिन समिति गठन गर भन्दै नाराबाजी गरे ।
अवरोध र नाराबाजी कायम रहेपछि सभामुखले साउन २६ गते शुक्रबार दिँउसो १ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभएकाे हाे ।