इरानमा सामूहिक बलात्कारको आरोपमा पाँच जनालाई फाँसी

एजेन्सी, २४ साउन । इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँच जनालाई बुधबार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ ।

“मे २०२२ मा मारान्ड शहरमा एक महिलालाई अपहरण गरी बलात्कार गर्ने पाँच जनालाई मृत्युदण्ड दिइएको छ,” न्यायपालिकाको मिजान अनलाइनले जनाएकाे छ ।

पूर्वी अजरबैजान प्रान्तमा भएको सामूहिक बलात्कारको चार दिनपछि पक्राउ परेका ती व्यक्ति अन्य अपराधमा पनि सम्लग्न रहेको मिजानले बताएको छ ।

गत महिना पनि इरानले नक्कली कस्मेटिक सर्जरी क्लिनिकमा उपचारको प्रलोभन देखाएर अर्धचेत अवस्थामा बलात्कार गरेको अभियोगमा तीन जनालाई मृत्युदण्ड दिएको थियो ।

उनीहरूलाई सन् २०२१ को अन्त्यतिर दक्षिणी प्रान्त होर्मोज्गानमा यौन दुव्र्यवहारका थुप्रै घटनामा सहभागी रहेको अभियोगमा दोषी ठहर गरिएको मिजानले जनाएको छ ।

मानव अधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलका अनुसार इरानले एकाधबाहेक अन्य मुलुकको तुलनामा बढी मानिसलाई मृत्युदण्ड दिने गरेको छ ।