भक्तपुरको लोकन्थलीबाट १५ लाख नक्कली नोट बरामद, ९ जना पक्राउ
काठमाडौं, २६ साउन । भक्तपुरको लोकन्थलीबाट १५ लाख बराबर नक्कली नोट बरामद गरेको छ ।
भक्तपुरको चाँगुनारायण न.पा.४ चाँगु बुढाथोकी गाउँं घर हुने मध्यपुर ठिमी न.पा.१ लोकन्थली बस्ने मनिष लुईटेलको साढे १ तले पक्की घरमा डेरागरी बस्ने सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ घर भई हाल चाँगु बस्ने वर्ष ४० को अर्जुन सुवेदीको कोठाबाट ती नेपाली नक्कली नोट र सामानहरु फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार वटा स्कुटरसमेत बरामद गरेको छ ।
प्रहरी टोलीले रुपैयाँसहित ९ जनालाई पक्राउसमेत गरेको छ । उनीहरू नक्कली नोट कारोबारमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ घर भई हाल काठमाडौँको मूलपानी बस्ने २१ वर्षीय मिलन भण्डारी, ३२ वर्षीय शिव भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी तथा सुनकोसी गाउँपालिका घर भई काठमाडौँको पेप्सीकोला बस्ने २६ वर्षीय सुशील कार्की पक्राउ परेका छन् ।
यसैगरी नवलपरासीको सराबल गाउँपालिका–१ घर भई हाल काठमाडौँ बस्ने पार्वती नेपाली, गुल्मीको बडागाउँ गाउँपालिका–२ घर भई हाल काठमाडौँको सामाखुसी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भई हाल काठमाडौँको मातातीर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा तथा झापा घर भई हाल काठमाडौँको समाखुसी बस्ने २४ वर्षीय युवराज राईलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।