संखुवासभा कैदी मृत्यु प्रकरण : सिसिटिभी फुटेजमा देखियाे प्रहरीद्वारा कुटपिट, १५ जना पक्राउ
संखुवासभा, २६ साउन । संखुवासभाकाे खाँदबारी कारागारमा कुटपिटबाट दुईजना कैदीको मृत्यु भएको घटनामा प्रहरीले अनुसन्धान थालेकाे छ ।
प्रहरीले घटनामा संलग्न प्रहरीसहित कारागारका अन्य १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेकाे हाे ।
कुटपिटबाट कैदी संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीलाई बुधबार बिहान मृत्यु भएको थियो।
कारागारको शौचालयको झ्यालमा रहेकाे फलामकाे डण्डी काटेर भाग्न खोजेको भन्दै कैदी तोलाङ्गी र बलामीलाई बुधबार बिहानका राति १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएर कारागारमा बुझाएकाे थियाे ।
कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरीको समेत प्रत्यक्ष संलग्नता देखिएको संखुवासभाका प्रहरी नायव उपरीक्षक (डीएसपी) बीरेन्द्र गोदारले बताउनुभयाे ।
रागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको हो। फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० जना प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक गोदारले बताउनुभयाे ।
घटनामा संलग्नमाथि पीडित पक्षको किटानी जाहेरीको आएपछि म्याद थप गरेर अनुसन्धान गरिने प्रहरी नायव उपरीक्षक गोदारले बताउनुभयाे ।
कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरी र चौकीदार, नाइके, बडानाइकेसहित ५ जना कैदीबन्दी संलग्न भएको देखिएको छ। नियन्त्रणमा लिएको १५ जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कारागारको सुरक्षामा असई (प्रहरी सहायक निरीक्षक)को नेतृत्वमा २० जना प्रहरी परिचालन थिए। घटनामा प्रहरीको संलग्नता देखिएपछि असई लक्ष्मी चौधरीसहित १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।