अदालतले भन्याे सांसद सुनिल शर्मालाई थुनामा नराख्नु
काठमाडौं, २६ साउन । काठमाडौं जिल्ला अदालतले सांसद सुनिल शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा थुनामा राख्न आवश्यक नभएको ठहर गरेको छ।
जिल्ला अदालत काठमाडौंले सांसद शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । अदालतका न्यायाधीश डण्डपाणि शर्माको इजलासले सांसद शर्मा भागेर देशबाहिर जाने सम्भावना नभएको र प्रमाण नष्ट गर्न नसक्ने भएकाले तारिखमै राखेर अनुसन्धान गर्न भनेको हो।
जारी आदेशमा भनिएको छ, ‘शैक्षिक योग्यताको प्रमाणपत्र भारतको बिहारको राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको देखिएको र अनुसन्धानका लागि राष्ट्रिय परीक्षा बोर्डबाट मिति २०७१/४/५ मा पत्राचार भइसकेको सन्दर्भमा प्रतिवादी सुनिल कुमार शर्मा भागिजाने सम्भावना पनि नरहेको र निजले प्रमाणको लोप वा नष्ट गर्ने अवस्थाको विद्यमानतासमेत रहेको समेत नदेखिँदा म्याद थपका लागि उपस्थित गराइएका प्रतिवादी सुनिल कुमार शर्मालाई मुद्दा अनुसन्धानका लागि प्रहरी हिरासत थुनामा नै राख्नुपर्ने अवस्थाको विद्यमानता मिसिल संलग्न कागजबाट नदेखिँदा यी प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को उपदफा १ बमोजिम तारेखमा राखी मुद्दा अनुसन्धान गर्नू।’