पाकिस्तानी मोडलको राजनीतिमा माओवादी, सुनिल पक्राउ त्यसैको सन्देश
काठमाडौं, २७ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ परेसँगै कांग्रेसभित्र तीव्र असन्तुष्टि फैलियो । केही हप्तादेखि शर्माले खुलेरै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशसरण महतको खुलेर विरोध गर्दै आउनु भएको थियो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा १०० किलो सुन पक्राउ गरेपछि शर्माले यो काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको समेत हात रहेको आरोप लगाउँदै सांसद दुई मन्त्रीहरूले राजीनामा दिनुपर्ने आवाज उठाइरहनुभएको थियो । त्यो मागसँगै शर्माको नागरिक तहमा निकै राम्रो माहोल बन्दै आएको थियो । पछिल्लो समय सुनकाण्डको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करीमा सरकारको समेत संलग्नता रहेको आशंका गर्दै निश्पक्ष छानविनका लागि समिति बनाउनु पर्ने माग गर्दै आएको छ ।
शर्मा पनि पछिल्लो समय गृहमन्त्री र अर्थमन्त्रीको गतिविधिबाट तिव्र असन्तुष्ट हुँदै निष्पक्ष छानविनका लागि अनशन नै बस्नेसम्मको तयारीमा हुनुहुन्थ्यो । तर, उहाँलाई हठात् रुपमा सांसद नक्कली शैक्षिक प्रमाणपत्र बोकेको आरोपमा गृहकै निर्देशनमा प्रहरीले पक्राउ गर्योे ।
हो, सांसद जस्तो गरिमामय पदमा रहेको व्यक्तिले नक्कली शैक्षिक प्रमाणपत्र बोक्नु गलत हो । तर, अहिले शर्मालाई जुन ढंगले सरकारले आतंककारीकै खोजविन गरे झैँ ढंगले पक्राउ गर्ने काम गर्यो । सरकारको त्यो शैलीलाई जनताले समेत अस्वीकार गरिदिएर र गृहमन्त्रीको कच्चा रणनीति भन्दै आलोचना गरे ।
गृहमन्त्री श्रेष्ठ अहिले मुख्य दोषीलाई कारबाही गर्ने भन्दा पनि उहाँको विरुद्धमा आवाज उठाउनेहरुलाई फर्मान जारी गर्दै बासी बनेका गतिविधिलाई समेत जोडेर पक्राउ गर्ने गलतबाटो समाति रहनु भएको छ । त्यस्को गतिलो उदाहरण शर्मा पनि हुन । शर्माको नक्कली शैक्षिक प्रमाणपत्रबारे धेरै अघि नै छानबिन भएको थियो । तर, गृहमन्त्री श्रेष्ठले आफूलाई आरोप लगाएकै बदला लिन शर्मालाई पक्राउ गर्नुले यो यसपछाडिको पूर्वाग्रह स्पष्ट भएको घाम जत्तिकै छर्लङ्ग देखिएको छ ।
अझ गज्जब त के भने, सांसद शर्मा पक्राउ परेको दोस्रो दिनमा नै थुनामुक्त हुनुभयो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पक्राउ गरेको भोलिपल्टै शर्मा जिल्ला अदालतको आदेशमा रिहा हुनुभयो ।
पक्राउ पर्दा पनि आत्मविश्वासका साथ सीआइबीकै कार्यालयको बार्दलीबाट अभिवादन गर्नुभएका शर्माले रिहाई भएपछि पनि आत्मविश्वासका साथ गृहमन्त्रीको राजीनामा माग गर्नुभएको छ । उहाँले आफ्नो गिरफ्तारी प्रधानमन्त्रीकै निर्देशनमा भएको दाबी समेत गर्नुभएको छ ।
शर्माले रिहा भएपछि प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै त्यति सारो बैगुनी नहुन समेत प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । नेपालको इतिहासमा सुनिल शर्मा, शेखर कोइराला, कृष्ण इच्छुक, महेश्वर दाहालजस्ता मानिस नभएको भए आज पनि प्रचण्डहरु जंगलमा हुन्थे भन्दै पहिलो वार्ता गराउने मान्छे आफूहरु भएको दलिल पेश गर्नुभयो । उहाँले त्यतिबेला लगाएको गुनको पैँचो हतकडी लगाएर प्रचण्डले दिएको भन्दै धन्यवाद भन्नुभयो । उहाँले प्रधानमन्त्री र गृहमन्त्रीप्रति लक्षित गर्दै पावरको उन्माद भएको समेत आरोप लगाउनुभयो ।
पार्टीका केही नेताहरूले यसका विरुद्ध खुल्ला रुपमा बोल्न पनि थालेका छन् भने पार्टीका सांसद चन्द्र भण्डारीले सांसद शर्मालाई पूर्वाग्रही ढंगले पक्राउ गरेको आरोप लगाउँदै सरकारले अनावश्यक ठाउँमा हात हालेको बताउनुभएको छ ।
गृहमन्त्रीको कञ्चाखेलले उहाँ स्वयंलाई घाटा गरिदिएको छ भने गठबन्धन दलभित्र समेत आशंका पैदा भै किचलो शुरु भएको छ । सांसद भण्डारीले त शर्मालाई राजनीतिक प्रतिशोधमा कारण पक्राउ गरेको आरोप नै लगाउनु भएको छ । देशमा धेरै समस्या भएको भन्दै लुटपाट र भ्रष्टाचार मौलाएको अवस्थामा राज्य यतातिर लाग्नु पर्नेमा नचाहिने प्रतिशोधमा राज्यले आफ्नो समय खेर फालेको भन्दै कडा शब्दमा उहाँले आलोचना गर्नुभयो । सांसद सुनिल शर्माको पक्राउ विषयलाई नै लिएर शुक्रबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा पनि छलफल चलेको थियो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका सांसद प्रदीप पौडेलले भ्रष्टाचारका घटनाहरु इमान्दारितापूर्वक खोलिएको हो भने कांग्रेसको आपत्ति नहुने तर पार्टी हेरेर कारवाही गरिएको भए त्यसो आफूहरूलाई स्वीकार्य नहुने बताउनुभएको थियो ।
भर्खरैको सुन काण्ड र ललितानिवास काण्डमा पनि धेरै मानिसहरूको नाम आएको भए पनि कसैलाई नपक्रेको तर सांसद शर्मालाई मात्रै पुरानो केशमा किन पक्राउ गर्नुप¥यो भन्ने प्रश्न उठेको पौडेलको भनाई छ ।
अझ गज्जब के छ भने सुनकाण्डमा माओवादीका शीर्ष नेताहरुको नाम मुछिदै आएको छ । तर, ती कुरामा कानमा तेल हालेर बसेका प्रधानमन्त्री र गृहमन्त्री अरु दलका नेता, सांसद र कार्यकर्तालाई भने उनीहरुको गलत गतिविधिमा खवरदारी गर्दा समेत शक्तिको दुरुपयोग गरेर पक्राउको आदेश दिएर कानुनको समेत धज्जी उडाइरहेका छन् ।
त्यस्तै कांग्रेसका अर्का नेता अर्जुन नरसिंह केसीले पनि सांसद शर्माको पक्राउ बारे प्रश्न उठाउनुभएको छ । यति धेरै पुरानो केशलाई आधार बनाएर सांसद शर्मालाई पक्राउ गर्नाले धेरै प्रश्न उठेको भन्दै उहाँले भन्नुभयो ।
त्यसै गरी एमालेका सांसद ज्वालाकुमारी साहले त संसदमै सुन काण्डको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ भन्दै आवाज उठाउने सांसदलाई पक्राउ गर्नाले धेरै शंका उठेको बताउनुभएको छ । कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सरकारका पछिल्ला क्रियाकलापहरु विपक्षी दलका नेतालाई छानीछानी जेल पठाउने पाकिस्तानी मोडलमा उद्यत भएको आरोप नै लगाउँदै आउनु भएको छ ।
उहाँले संसदीय दलको बैठकमा आफ्नो धारणा राख्ने क्रममा कांग्रेसका नेताहरुलाई छानीछानी पक्राउ गर्ने र आरोप लगाउने कार्यहरु भइरहेकोमा आफूलाई दुःख लागेको बताउनु भएको थियो । उहाँले पाकिस्तानको उदाहरण दिदैँ एउटाले सरकारको लिड गर्दा अर्कोको स्क्याण्डल खोजीखोजी जेल पठाउने र अर्को आएपछि फेरि विपक्षीलाई त्यसै गर्ने परम्परा रहेको भन्दै नेपालमा पनि त्यस्तै देखिन थालेको भन्दै विरोध गर्नुभएको थियो ।
डाक्टर देउवाको त्यो आशंकासँगै मेल खाने खालकै दृष्यहरु अहिले सरकारले गरिरहेको छ भन्दा फरक नपर्ने अवस्था देखिएको छ । कांग्रेस मात्रै होइन सरकारमै सहभागी दल जनता समाजवादी पार्टी (जसपा) पनि माओवादीको पछिल्लो गतिविधिबाट झस्किएको छ । सरकारले गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग पाँच बुँदे सहमति गरेसँगै सरकारको निर्णयप्रति गम्भीर असन्तुष्ट बनेको छ ।
२०६३ चैत ७ गते भएको घटनामा २७ जना वाईसीएल कार्यकर्ताको नृशंस हत्या भएको थियो । उक्त दलले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर चैत ७ गते कार्यक्रममै उपस्थित नहुनुभएका तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलगायतका व्यक्तिमाथि राजनीतिक पूर्वाग्रहका साथ बदनियतपूर्ण ढंगले जाहेरी दिन लगाएको दाबी गर्दै त्यसको प्रतिरोध गर्ने चेतावनी दिनुभयो । यो घटनालाई समेत धेरैले माओवादी नेतृत्वको सरकारको पाकिस्तानी मोडलतर्फको उद्यत भनी आरोप लगाएका छन् ।
