संखुवासभामा कैदीबन्दी मृत्यु प्रकरण : जेलर र असईविरूद्ध किटानी जाहेरी

संखुवासभा, २७ साउन । संखुवासभाको कारागारभित्र दुई कैदीबन्दीको मृत्यु भएको घटनामा पिडितहरूले जेलर र प्रहरी सहायक निरीक्षक(असई)विरूद्ध जाहेरी दिएका छन् ।

शनिबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा कारागार प्रमुख राजेन्द्र घिमिरे र असई लक्ष्मी चौधरीविरूद्ध जाहेरी परेको प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।

गत बुधबार बिहान खाँदबारी नगरपालिका-१ मा रहेको कारागारमा संखुवासभामा रहेका मादी नगरपालिका-५ फेलेदै बस्ने २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका-७ का २७ वर्षीय विकास श्रेष्ठ भन्ने आकाश बलामी कुटपिटका कारण अचेत अवस्थामा फेला परेका थिए। उनीहरूको उपचारका क्रममा जिल्ला अस्पताल खाँदवारीमा मृत्यु भएकाे थियाे ।

उनीहरू दुबै जना राति सवा १ बजे कारागारबाट भाग्नका लागि आफू बस्ने तल्लो तलाको ब्लकको झ्यालको फलामकाे डण्डी काटेर भाग्न लागेकाे बेला ड्युटीमा खटिएका प्रहरीले देखेपछि जानकारी गराइ पक्रेर कारागारका बुझाएका थिए ।

प्रत्यक्षदर्शी जेलर र प्रहरी कर्मचारीहरूका अनुसार नियन्त्रणमा लिनेक्रममा उनीहरू दुबै जनामाथि प्रहरीद्वारा कुटपिट समेत भएको जनाएकाे छ । कुटपिटबाट बिहान अचेत फेला परेका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।

पीडित परिवारले त्यस राति ड्युटीमा खटिएका असई लक्ष्मी चौधरी र कारागार प्रमुख घिमिरेको पनि संलग्नता भएको भन्दै किटानी जाहेरी दिएका हुन्।

उनीहरूविरूद्ध प्रहरीले अनुसन्धान अघि बढाएको छ। मृतकहरू दुबै जनाको पोष्टमार्टम सकिसकेको छ। तर मृतक परिवारले शव बुझ्न मानेका छैनन्।