सोरुकोटबाट मुगु जाँदै गरेको बाेलेराे दुर्घटना, चार जनाको मृत्यु पाँच घाइते

मुगु, ३० साउन । मुगुको शोरु गाउँपालिकामा भएको बोलेरो दुर्घटनामा चार जनाको मृत्यु भएकाे छ भने पाँचजना घाइते भएका छन् । मृत्यु हुनेहरू चारै जना हुम्लाका रहेका छन् ।

सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको बोलेरो सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको थियो ।

दुर्घटनामा मृत्यु हुने चारै जना हुम्लाका भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो जिपमा चालकसहित नौ जना सवार रहेका थिए । प्रनाउ बस्नेतले भन्नुभयो, “मृतकमा सर्केगाड गाउँपालिका–२ रिपका राम परियार, सिमकोट गाउँपालिका–२ का प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका राम परियार, पिउस परियार भएको शोरु प्रहरी चौकीले सनाखत गरेको छ ।”

जिपमा सवार हुम्लाका पाँच जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा तारापानी आधारभूत स्वास्थ्यचौकीमा मृत्यु भएको छ । एक जना सख्त घाइते भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । हुम्लाका घाइते यात्रु उजिर बोहरा र अन्य मुगुका घाइतेलाई मुगु सदरमुकाम गमगढी स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

दुर्घटनामा परी चालकसहित मुगुका दुई यात्रु र हुम्लाका बोहरा सख्त घाइते भएका छन् । घाइते सबैको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि मुगु जिल्ला बाहिर लैजानुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।