संखुवासभा कारागारमा दुई कैदीको कुटपिटबाट हत्या भएकाे निष्कर्ष
संखुवासभा, ३२ साउन । संखुवासभाकाे जिल्ला कारागारबाट भाग्न खोजेका दुई जना कैदीकाे कारागारभित्रैकाे यातनाले हत्या भएकाे र हत्या पश्चात अस्पताल पुर्याइएको मानव अधिकारवादी संघ–संस्थाहरूले निष्कर्ष निकालेकाे छ ।
संखुवासभाकै मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत साउन २४ गते कारागारमा झडप हुँदा कुटपिटबाट घाइते भएपछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भनिएको थियो।
उक्त घटनामा कारागार प्रशासन तथा प्रहरीहरूलाई पनि नियन्त्रणमा लिएर विभिन्न सरकारी टोलीले घटनाकाे छानबिन गरिरहेका छन्।
सरकारी पक्षबाट गठित समितिहरूले छानबिन प्रतिवेदन प्रकाशन गर्नु अगावै अधिकारवादी संस्थाहरूले स्थलगत अध्ययन पछि आफ्नो निष्कर्ष सार्वजनिक गरेका हुन्।
इन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापाले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनमा दुई कैदीलाई पाशविक रूपमा कुटपिट गरेर हत्या गरेको बताए।
‘पहिले कारागारभित्रै ज्यादै पाशविक रूपमा कुटपिट गरेर हत्या गरेको र उनीहरूको मृत्यु भइसकेपछि बिहान बल्ल अस्पताल लगेको देखिएको छ’, उनले भने, ‘भाग्न खोजेका बेला उनीहरूलाई कारागार सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिए। त्यसपछि प्रहरी र कैदीहरू मिलेर ज्यानै जाने गरी कुटपिट गरेको देखिन्छ। जब उनीहरूको मृत्यु भयो, बल्ल अस्पतालतिर लगेको देखियो।’
थापाका अनुसार भाग्न खोज्ने कैदीहरूलाई पहिले प्रहरीले कुटपिट गरेपछि कारागारभित्र लगिएको र भित्र पनि कैदीहरूले कुटेको देखिन्छ। उनीहरूमाथि रड, लाठी प्रहार भएको अधिकारकर्मीहरूको भनाइ छ।
राष्ट्रिय मानव अधिकार आयोग विराटनगरका प्रमुख पवनकुमार भट्टले संखुवासभा प्रकरण राज्यका निकायको गम्भीर लापरबाहीको नमूना भएको बताए।
‘राज्यका निकायहरूमा नागरिकको यो ढंगले ज्यान लिने कुरा ज्यादै गम्भीर छ’, उनले भने, ‘हामी चाँडै अनुगमन प्रतिवेदन सार्वजनिक गर्नेछौं।’
घटनामा संलग्न रहेको भन्दै पीडितका परिवारले किटानी जाहेरी दिएपछि कारागार सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी प्रहरी नियन्त्रणमा छन्। निमित्त जेलर राजेन्द्र घिमिरे फरार छन्।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्र गोदारका अनुसार दुई जना विरुद्ध किटानी जाहरे परे पनि प्रहरीले ८ जनामाथि अनुसन्धान गरिरहेको छ । आठ जनाको अनुसन्धानपछि थव विषय खुल्ने उनले बताए ।
उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि मात्रै परिवारले घटनाको ६ दिनपछि शव बुझेका थिए।