पर्वतका निजामती कर्मचारी संस्कृत भाषा पढ्दै

पर्वत, ३२ साउन । पर्वतका निजामती कर्मचारीले संस्कृत भाषा पढ्न थालेका छन् । विसं २०५६/५७ देखि विद्यालय तहका पाठ्यक्रमबाट हटाइएको संस्कृत भाषाको जगेर्ना गर्ने उद्देश्यले यहाँका निजामती कर्मचारीले संस्कृत भाषा सिक्न थालेका हुन् ।

पछिल्लो समय हरेक क्षेत्रमा संस्कृत भाषाको प्रयोग र महत्व बढ्दै जानुका साथै विभिन्न धार्मिक ग्रन्थ, लिपि र ऐतिहासिक दस्तावेजको अध्ययन गर्न टेवा पुग्ने भएकाले संस्कृत भाषा कक्षा सञ्चालन गरिएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी नेत्र पौडेलले जानकारी दिनुभयो ।

संस्कृत देवनागरी लिपिमा लेखिएको पुरानो भाषा रहेको भन्दै उहाँले वेदमा बोलिने वैदिक र लौकिक भाषालाई जगेर्ना गर्दै व्यवहारिक ज्ञान रुपान्तरण गर्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताउनुभयो ।

सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा गत मङ्गलबारदेखि साँझ ५ः१५ बजेदेखि एक घण्टा संस्कृत कक्षा सञ्चालन गरिएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार संस्कृत भाषा पढ्नका लागि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यको नेतृत्वमा जिल्ला समन्वय अधिकारी पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेललगायत जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, नगरपालिका तथा गाउँपालिकाका कर्मचारीको सहभागिता रहेको छ ।

कर्मचारीलाई पढाउन सुदर्शन प्रपन्नाचार्य खटिनुभएको छ । प्रपन्नाचार्यका अनुसार न्यूनतम एक महिनाको सिकाइले संस्कृत भाषा अध्ययन गर्न, बोल्न र दाहोरो संवाद गर्न सक्ने हुनुहुनेछ । दुईदेखि तीन महिनासम्मको कक्षा लिएपछि धार्मिक कर्मकाण्डसमेत गर्न÷गराउन सकिने उहाँको भनाइ थियो ।

प्रपन्नाचार्यले संस्कृत भाषाको जगेर्ना गर्ने र आम जनमानससम्म यसको महत्व पुर्याउनका लागि निजामती कर्मचारीले थालेको अभियान प्रशंसायोग्य रहेको बताउनुभयो । यो भाषा जुनसुकै उमेर समूह, धर्म सम्प्रदायका लागि उत्तिकै महत्वपूर्ण रहेकाले सबैले अनिवार्य सिक्न जरुरी रहेको उहाँको भनाइ थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *