उच्चस्तरीय छानबिन आयोग गठन गर्न तयार भए गतिरोध अन्त्य हुन्छ : महासचिव पोखरेल

काठमाडाैं, १ भदौ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनकाे गतिरोध अन्त्य हुने बताउनुभएको छ ।

प्रेस चौतारी पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सुन तस्करी प्रकरणलगायतका विषयमा छानबिनका लागि आयोग गठन गर्न सत्तापक्ष तयार नहुँदा सदनको अवरुद्ध जारी रहेको बताउनुभएकाे हाे।

“हामीले कुनै जटिल वा अप्ठ्यारो माग राखेका छैनौँ”, उहाँले भन्नुभयो, “उच्चस्तरीय छानबिन आयोग बनाउन भनेका हौँ, प्रतिपक्षको समान्य कुरासमेत सुन्न नचाहेकाले यस्तो परिस्थिति सृजना भएको छ ।” आफूहरुले उठाएका माग सम्बोधन गर्न तयार भए संसद् सञ्चालन हुने उहाँको भनाइ थियो ।

राज्यका सुरक्षा निकायप्रति आफूहरुको कुनै आशङ्का नरहेको उल्लेख गर्नुहुँदै महासचिव पोखरेलले सुन तस्करी प्रकरणमा सत्तापक्षकै कतिपय ठूला नेताहरु मुछिएकाले घटनाको स्वच्छ र निष्पक्ष छानबिन हुनेमा आशङ्का उब्जिएकाले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिएको स्पष्ट पार्नुभयो ।

दोषी नछुटोस् र निर्दाेष नफसोस् भन्ने आफ्नो पार्टीको मान्यता रहेको बताउनुहुँदै ठूलो मात्रामा भित्रिएको सुनबारे सरकारले स्वच्छ, निष्पक्ष छानबिन गर्न दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

संसद्मा प्रतिपक्षका कुरा सुन्नै नचाहने, बोल्नै नदिने र कुरा उठाउनसमेत बन्देज लगाउने जस्ता कार्य गरिरहेकाले संसद् अवरुद्ध गर्नुपरेको स्पष्ट पार्नुहुँदै महासचिव पोखरेलले सत्तापक्षले प्रतिपक्षलाई अदृश्य रुपमा घेराबन्दीमा पार्दै आएको आरोप लगाउनुभयो ।

मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता औँल्याउनुहुँदै उहाँले बलियो राजनीतिक शक्ति निर्माणका लागि नेकपा एमाले ‘मिसन २०८४’ अभियान सञ्चालन गरी बलियो राजनीतिक शक्ति निर्माणमा अघि बढेको बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *