डोल्पामा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, पिडित बालिकाको पेटमा ६ महिनाको गर्भ

सुर्खेत,१ भदाै। डोल्पामा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएकाे छ ।

जिल्लाकाे जगदुल्ला गाउँपालिकामा नौ जना युवकद्वारा सामूहिक बलात्कार गरेकाे आरोपमा तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जगदुल्ला गाउँपालिका-५ का २७ वर्षीया धर्मराज बाेहारा, सल्यान कुमाख गाउँपालिका-५ का २३ वर्षीया रेशम राना, जाजरकोट कुसे गाउँपालिका- ९ का २१ वर्षीया कृष्ण बि.क. रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

उक्त बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेर नौ आरोपितमध्ये तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

घटनाको ६ महिनापछि पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय डोल्पामा किटानी जाहेरी दिएको डीएसपी बुढाथोकीले बताए ।

डीएसपी बुढाथोकीका अनुसार बलात्कृत बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको छ । बालिकाको पेटमा बच्चा हुर्कँदै गएको परिवारले थाहा पाएपछि उनीहरूको नाममा किटानी जाहेरी दिएका हुन् ।

फरार बलात्कारीहरूकाे खोजी कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।