हिन्दु धर्मावलम्बीहरूले आज घर-घरमा नागपञ्चमी पर्व मनाउँदै
 
                              काठमाडौं, ४ भदौ । आज श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमी । हिन्दु धर्मावलम्बीहरूले यस पर्वमा परम्पराअनुसार नागको पूजाअर्चना गरी घरकाे मूलढोकामा नागकाे तस्बिर टाँसेर मनाइँँदै छ ।
यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।
यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।
महाभारतमा परीक्षित नामका राजालाई नागले डसेर मृत्यु भएपछि उनका छोरा जनमेजयले संसारका सम्पूर्ण सर्प मार्न यज्ञ लगाएर यज्ञमा भष्म बनाउन खोजेको अवस्थामा इन्द्रसँगै आएका अस्तिकाले माफी मागेपछि यज्ञमा हवन हुन लागेका सम्पूर्ण सर्पहरू बाँचेकाले श्रावण शुक्लपक्षको पञ्चमीका दिन विशेष पूजापाठ गरिएको भन्ने जनविश्वास रहेको पाइन्छ ।
काठमाडौं उपत्यकामा भने नाग रिसाए भने चोभारमा पहिरो जाने र पहिले जस्तै उपत्यकामा पानी जम्ने र समस्या आउन सक्छ भनेर नागलाई विधिपूर्वक पूजाआजा गर्ने गरेको किंवदन्ती रहेकाे बुढापाकाहरू बताउँछन् ।
नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।
बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।
 
                     
                 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			