धनगढीबाट काठमाडौं जाँदै गरकाे बस नवलपुरमा दुर्घटना, २९ जना घाइते

नवलपरासी, ५ भदौ । धनगढीबाट काठमाडौं जाँदै गरकाे बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौंका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो ।

बस आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।

घाइते सबैको अवस्था खतरामुक्त रहेको उहाँको भनाइ छ । बसमा ३५ जना यात्रु सवार रहेका जनाइएको छ ।