त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु
काठमाडाैं, ६ भदाै । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीकाे बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको हो।
धादिङका प्रहरी प्रमुख गौतम मिश्रका अनुसार दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष रहेकाे र घाइते ८ जनाको उद्धार भएको प्रहरीले जनाएकाे छ।
घाइते पाँच जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे विस्तृत विवरण अझै आउन बाँकी छ।