त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ केजी ७ सय ग्राम चरेससहित २ जना पक्राउ

काठमाडौं, ६ भदाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज एरियाबाट अवैध लागूऔषध चरेससहित २ जना पक्राउ परेका छन् ।

मंगलबार बेलुकी प्रहरीले ११ केजी ७ सय ग्राम अवैध लागूऔषध चरेससहित २ जना पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेहरूमा लम्जुङ दोर्दी गाउँपालिका-५ फोर्जुङ घर भएका ३४ वर्षीय सुन्दर गुरूङ र लम्जुङ छैलुङ घर भएका ४७ वर्षीय औता राम गुरूङ रहेका छन् ।

बाटिक एयरको उडानद्वारा मलेसिया हुँदै थाईल्यान्ड जान लागेका उनीहरूको लगेजभित्र फल्स बटम बनाई टेपले र्‍यापिङ गरिएको अवस्थामा सुन्दरको साथबाट ६ केजी र औता रामको साथबाट ५ केजी ७ सय ग्राम चरेस फेला परेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धानका लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्‍वरमा बुझाइएको प्रहरीले जनाएकाे छ ।