नयाँ इतिहास : भारतले प्रक्षेपण गरेकाे चन्द्रयान–३ चन्द्रमामा अवतरण

एजेन्सी, ६ भदाै । छिमेकी राष्ट्र भारतले अन्तरिक्षमा पठाएको चन्द्रयान –३ को ‘ल्याण्डर मोड्युल’ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको छ । चार वर्षअघि चन्द्रयान–२ को दुर्घटनाग्रस्त अवतरणको निराशाको अन्त्य गर्दै चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिणध्रुबमा अवतरण गराएर ऐतिहासिक सफलता रच्न सफल भएको छ ।
यो ध्रुबमा पुग्ने भारत पहिलो देश बनेको छ । चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने अमेरिका, चीन र रूसपछि भारत चौथो देश बनेको छ । भारतीय अन्तरिक्ष एजेन्सी इसरोको बेङ्गलोरस्थित मुख्यालयका अधिकारीहरूले चन्द्रयान–३ मार्फत पठाइएको ल्याण्डर मोड्युल विक्रमले आफ्नो अवतरण स्थलतर्फ आफ्नो ठाडो अवतरण सुरु गरेपछि ताली बजाएर खुशी मनाएका थिए ।
“भारत चन्द्रमामा पुगेको छ !” जोहानेसबर्गमा आयोजित १५औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्स (ट्वीटर) मार्फत् उक्त जानकारी दिएका छन् । विक्रमको चन्द्रमाको कक्षबाट अवतरणको यात्रा १५० मिटर, त्यसपछि १३० मिटर, ५० मिटरमा रहेको थियो र चन्द्रमाको सतहमा पुग्नुअघि चन्द्रमानजिक आइपुग्दा यसको गति घट्दै गएको थियो । विक्रम ल्यान्डरले प्रज्ञान रोभरलाई लिएर चन्द्रमाको सतहमा अवतरण गरेको हो । यो भारतका लागि अन्तरिक्ष यात्राको ठूलो फड्को हो ।
भारतले पृथ्वीको एक मात्र प्राकृतिक उपग्रहको दक्षिणतर्फ अवतरण गर्ने पहिलो देशको रूपमा रेकर्ड बनाएको छ । भारत र विश्वभरका अरबौं मानिसहरूले बहुप्रतिक्षित कार्यक्रमलाई नजिकबाट नियालिरहेका छन् ।
स्कुल र विज्ञान केन्द्रहरू र सार्वजनिक संस्थानहरू सहित देशभर अवतरणलाई विशेष स्क्रिनिङहरू जडान गरी हेरिएको थियो । इसरोले आफ्नो वेबसाइट, यसको युट्युब च्यानल, फेसबुक र सार्वजनिक प्रसारक डीडी नेशनल टिभीमा लाइभ कार्यहरू उपलब्ध गराएको थियो ।
चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को अवतरण (सफ्ट ल्यान्डिङ)का लागि २३ अगस्ट २०२३ (बुधबार) भारतीय समय १८ः०४ बजेलाई निर्धारण गरेको थियो । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को एक महत्वाकांक्षी योजनाका रुपमा भारतले गत जुलाई १४ तारिखका दिन आन्ध्र प्रदेशको श्रीहरिकोटा भन्ने ठाउँबाट यो यान प्रक्षेपण गरेको थियो ।