सडक हिलाम्ये भएपछि चीनबाट आयातित विद्युतीय सवारीसाधन टिमुरमै रोकियो

रसुवा, ८ भदौ । रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन् ।

टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण विद्युतीय कारलगायत साना सवारीसाधन रोकिएका हुन् ।

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार स्याफ्रु–रसुवागढी सडक खण्डमा अत्यधिक हिलो भएका कारण गत वर्ष र चालुआवको साउन महिनामा आयात गरिएका चार सयभन्दा बढी नयाँ कार, जीप, भ्यान टिमुरेमै रोकिएका छन् ।

सडकको नाजुक अवस्थाका कारण रसुवागढी क्षेत्रमा अहिले एमबी, बिवाइडी, किङलङ र नेटा कम्पनीले आयात गरेका सवारीसाधन रोकिएका जनाइएको छ ।

सडक सुधार गरी नेपाल–चीनबीचको मालसामग्री आयात निर्यातमा सहजता गरिदिन सडकसँग सम्बन्धित निकायमा अनुरोध भइरहेको भन्सार कार्यालयले जनाएको छ । मालवस्तु आयात–निर्यात गर्ने प्रमुख नाकाको सडकमार्ग संरक्षणमा सडक विभाग गम्भीर हुनुपर्नेमा स्थानीय बासिन्दाले समेत माग राखेका छन् ।

सडक विभागले हिलो फ्याँक्न सक्ने एउटा ठूलो उपकरण र बलौटे माटो बोक्ने टिपरसमेत राख्नुपर्ने स्थानीयको माग छ ।