चन्द्रमामा भेटियो गुफाः गुफाभित्रै वैज्ञानिक प्रयोगशाला बनाउने नासाको योजना

काठमाडौं । अत्यन्त प्रतिकुल मौसम व लगातार भइरहने खगोलीय पिण्डहरूको घातक वर्षाले गर्दा चन्द्रमामा मानिस बस्न सक्ने अवस्था छैन । तर अब अमेरिकी वैज्ञानिकहरूले यो अवस्थालाई जितेर चन्द्रमामा पनि मानिस बस्न योग्य वातावरण बनाउन सकिने योजना अघि सारेको छ ।
वैज्ञानिकहरूले यो योजना बनाउनुको प्रमुख कारण हो, चन्द्रमामा हालै भेट्टाइएको एउटा ठूलो गुफा । अमेरिकी अन्तरिक्ष संस्था नासाको सहयोगमा चन्द्रमाबारे अध्ययन गरिरहेका वैज्ञानिकहरूको एउटा टोलीले हालै मात्र चन्द्रमाको सतहमा उक्त गुफा पत्ता लगाएको थियो ।
त्यसकै आधारमा नासाले अब चन्द्रमामा मानिस पठाई त्यही गुफामा बस्ने र गुफालाई नै चन्द्रमाको स्टेशन बनाउने योजना तयार गरेको हो ।
पृथ्वीवासीका लागि चन्द्रमाको मौसम अत्यन्तै प्रतिकुल रहेको छ । यहाँ रातमा मौसम चिसो भएर माइनस २८० डिग्री फरेनहाइटसम्म पुग्छ भने दिनमा फेरि बढेर २६० डिग्री फरेनहाइटसम्म पुग्छ । चन्द्रमाको आकासमा पृथ्वीको जस्तो वायुमण्डल छैन । त्यहाँ पृथ्वीमा जस्तो कुनै म्याग्नेटिक फिल्ड पनि छैन । ग्रहलाई घेर्ने कुनै वायुमण्डल नभएको कारणले आकाशबाट झर्ने खगोलीय पिण्ड (ढुंगा) हरू पृथ्वीमा भन्दा जोडले बज्रिन पुग्दछ ।
त्यस्तै म्याग्नेटिक फिल्ड नभएको कारणले कुनै पनि जीव यदि चन्द्रमाको सतहमा उभिन गयो भने त्यसलाई पृथ्वीको भन्दा २०० गुणा बढी विकिरणको प्रभाव पर्ने खतरा रहन्छ ।
तर चन्द्रमाको सतहमा अहिले भेटिएको गुफा भित्रको तापक्रम भने ६३ डिग्री फरेनहाइट मात्रै छ । त्यहाँ बस्दा मौसमको हिसाबले पनि अनुकुल हुने र आकाशबाट बर्सिरहने खगोलीय चट्टानहरूबाट पनि बच्न सकिने विश्लेषण वैज्ञानिकहरूले गरेका छन् ।
अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२६ मा मानव सहितको यान चन्द्रमामा पठाउने तयारी गरिरहेको छ । यसको लागि नासाले ‘आर्टिमिस ३’ नामक मिसन शुरु नै गरिसकेको छ । अहिले गुफा पत्ता लागेका कारण अब चन्द्रमा पुग्ने यात्रीहरू लामो समयसम्म त्यहाँ बस्न सकिने अनुमान गरिएको छ । मानिसहरू लामो समय बस्न सकियो भने चन्द्रमा बारे अध्ययन गर्न चन्द्रमामा नै स्टेशन बनाएर काम गर्न सकिन्छ ।
त्यति मात्र होइन, यो विचार यदि सफल भयो भने भविष्यमा मंगल ग्रहमा समेत यही मोडलबाट काम गर्न सकिने आशा पनि वैज्ञानिकहरूले गरेका छन् । अर्थात्, मंगलमा पनि अब मानिस सहितको यान पठाउने सपना वैज्ञानिकहरूले देख्न थालिसकेका छन् ।
आखिर चन्द्रमामा यस्तो गुफा कहाँबाट आयो त ? वैज्ञानिकहरूले यसको पनि कारण पत्ता लगाएका छन् । आजभन्दा दुई अर्ब वर्ष अघिसम्म चन्द्रमामा ज्वालामुखीहरू अत्यन्त सक्रिय थिए । त्यतिबेला ज्वालामुखी विष्फोट हुँदा चन्द्रमा भित्रको लाभा बाहिर निस्कन जुन बाटो बनाइने हो, त्यो नै अहिले आएर ठूला ठूला गुफामा रुपान्तरण हुन पुगेको हो ।
वैज्ञानिकहरूले सन् २००९ देखि गरिरहेको अनुसन्धानले आजसम्म चन्द्रमाको सतहमा यस्ता १६ वटा गुफाहरू पत्ता लगाइसकेको छ । तर यी गुफाहरू अत्यन्त गहिरा छन् ।
वैज्ञानिकहरूले नजिकबाट अध्ययन गरिरहेको एउटा गुफा ३२८ फिट गहिरो रहेको थाहा भएको छ । यो भनेको हाम्रो ३० तल्ले घर जतिकै हुन्छ । यो गुफाभित्र छिर्न र फेरि बाहिर निक्लन नै गाह्रो पर्ने देखिन्छ । तर नासाका वैज्ञानिकहरूले पहिले त्यो ठाउँमा स्टेशन बनाउँ, त्यसपछि तल–माथि गर्ने कुनै प्रविधिको विकास गरौँला भनेका छन् । यदि त्यहाँ स्टेशन बनाउन मिल्ने स्थिति भयो भने त्यो गुफालाई कसरी मानव बस्न योग्य बनाउने हो त्यसबारे नासाले बिचार गर्नेछ ।
स्मरणीय छ, पृथ्वीमा मानव वस्तीको विकास गुफाबाट शुरु भएको हो । अब चन्द्रमामा पनि गुफाबाटै मानव वस्ती आरम्भ हुने होकि भनेर पनि वैज्ञानिकहरू उत्साहित भएका छन् ।