बनेपाका संस्कृतिविद् ज्ञानकाजी मानन्धरको निधन

बनेपा, ९ भदौ । बनेपाका वरिष्ठ संस्कृतिविद् एवं लेखक ज्ञानकाजी मानन्धरको निधन भएको छ । लामो समयदेखि मिर्गौला समस्याका कारण अशक्त रहँदै आउनुभएका मानन्धरले आज शनिवार बिहान बनेपास्थित आफ्नै निवासमा देहत्याग गर्नुभएको हो । उहाँ ८९ वर्षको हुनुहुन्छ ।

पारिवारिक स्रोतका अनुसार आजै बनेपामा उहाँको अन्तिम संस्कार गरिनेछ ।

मानन्धरका नेपाली, अंग्रेजी र नेपालभाषा गरी एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । उहाँ बनेपामा साहित्यकार, संस्कृतिविद्, शिक्षाविद् एवं समाजसेवीका रुपमा लोकप्रिय हुनुहुन्छ ।

उहाँले बनेपाका विभिन्न धार्मिक, सांस्कृतिक कथाहरूलाई नाट्य रुपान्तरण गरी आधुनिक नाटकहरू लेख्नुभएको छ । कपिलवस्तुस भगवान्, कुमारी, खड्गजोगिनी, बनेपा स्तवन, अरनिकोया श्वेतचैत्य, मानन्धरतय्गु विषय छुं खँ, द लिजेण्ड अफ नेपाल, बनेपाका सात गणेश उहाँका प्रशिद्ध कृति हुन् ।

बनेपामा विभिन्न स्कुल र कलेज स्थापना गरी उहाँले शिक्षाको जग मजबुत गर्नुभएको थियो भने धेरै वर्ष उहाँले प्राध्यापन पनि गर्नुभएको थियो । उहाँका पिता मोहनलाल खिं मानन्धर पनि बनेपाका प्रख्यात नाट्यकर्मी एवं संस्कृतिविद् हुनुहुन्थ्यो ।

दिवंगत मानन्धरका श्रीमती सहित दुई छोरी र दुई छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *