नेवार समुदायले ‘गुन्हुपुन्ही’मा भ्यागुताको पूजा गरी भोजन खुवाउँदै

भक्तपुर, १३ भदाै । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज भक्तपुरका नेवार समुदायले गुन्हुँपुन्ही पर्व मनाउँदै भ्यागुताको पूजा गरेका छन् ।

श्रावण शुक्ल पूर्णिमाको अवसरमा नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुता पुजेर खाना खुवाउने प्रचलन रहेको छ ।

कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्याउने जीवका रूपमा भ्यागुतालाई लिने गरिन्छ । कृषकहरू प्राकृतिक देवताका रूपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने गर्दछन् ।

वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर धानखेत र पानीको स्रोत भएका ठाउँमा गई भ्यागुतालाई पूजा गरी भोजन गराउने परम्परा रहेको प्रा डा श्रेष्ठ बताउनुहुन्छ । जसलाई स्थानीय भाषामा ‘ब्याचा जाः नक वानेगु’ भनिन्छ ।