६० किलो सुन प्रकरणमा त्रिभुवन विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सामूहिक सरुवा

काठमाडौं, १३ भदाै । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत् १३७ कर्मचारीले काम सामूहिक सरुवा मागेका छन् ।

६० किलो सुन प्रकरणका घटनापश्चात विमानस्थल भन्सार कार्यालयमा कार्यरत् भन्सार अधिकृतदेखि कार्यालय सहयोगीसम्मका १३७ कर्मचारीले विभागसमक्ष सरुवा मागेका हुन् ।

पछिल्लो समयमा सुन प्रकरणका घटनामा अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दु:ख दिने तथा मानसिकरूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई भएकाे कर्मचारीहरूले जनाएकाे छ ।

विनाकारण भोग्नुपरेको मानसिक तनावका कारण घर परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको उनीहरूको भनाई छ ।

‘भन्सार कर्मचारीहरूले निरन्तररूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने शिलशिलामा रात दिन नभनी २४ सै घण्टा सार्वजनिक बिदाका दिनहमा समेत कुनै अतिरिक्त सेवा सुविधा नलिई प्रचलित कानूनबमोजिम नियमित रूपमा कामकाजमा खटिएका छौं । कामकाजको सिलसिलामा भन्सार राजस्व उठाउँदा यात्रु शाखामा यात्रुबाट हुने दुर्व्यवहार र अपशब्दको त कुनै सीमा नै छैन’, महानिर्देशसमक्ष मागिएको सामूहिक सरुवाको निवेदनमा उल्लेख छ ।