अवरुद्ध ताप्लेजुङ –काठमाडौं उडान सुचारु

ताप्लेजुङ, १८ भदौ । नेपाल एयरलाइन्सले करिब तीन महिनादेखि अवरुद्ध ताप्लेजुङ –काठमाडौं उडान सुरु गरेको छ ।
खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौँ सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिनुभयो ।
लामो समयपछि भएको उडानमार्फत काठमाडौँबाट छ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडाैं गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उहाँले बताउनुभएको छ ।
करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।
यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ । काठमाडाैं ताप्लेजुङको भाडा यसअघि रु नौ हजार छ सय ५३ थियो भने हाल घटाएर रु आठ हजार छ सय कायम गरिएको छ । यस्तै ताप्लेजुङ काठमाडौंको भाडा यसअघि रु नौ हजार चार सय ५३ भएकोमा यसलाई घटाएर रु आठ हजार चार सयमा झारिएको छ ।