६० किलो सुन प्रकरण : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनमाथि सीआईबीकाे बयान

काठमाडौं, १९ भदाै । लगभग ६१ किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ ।

सुन तस्करीमा पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशको समेत कनेक्सन देखिएपछि उनलाई अनुसन्धानमा तानिएको प्रहरी उच्च स्रोतले बतायाे ।

स्रोतका अनुसार आइतबार महाराजगञ्जस्थित ब्यूरोमा उनले बयान दिएका छन्। उनको संलग्नता पुष्टि भएमा गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइने पनि स्रोतको भनाइ छ ।

राजश्व अनुसन्धान विभागले साउन ३ गते सुनसहितकाे १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । यसको १९ दिनपछि अनुुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो । उक्त सुन नेपाल राष्ट्र बैंककाे टक्सार विभागले गाल्दा ६० किलो ७१६ ग्राम निस्केकाे थियाे ।

उक्त सुन तस्करी प्रकरणमा संलग्न ६ विदेशी नागरिकसहित २५ जना पक्राउ परिसकेका छन् ।