अमेरिकी सैनिककाे एक टुकडी आज नेपाल आउँदै

काठमाडौं, २१ भदाै । अमेरिकी सेनाको एक टुकडी आज नेपाल आउँदैछन्।

नेपाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि आज अमेरिकी सेना नेपाल आउन लागेकाे हाे ।

दुई देशका सेनाबीच नियमित रूपमा सञ्चालन हुँदै आएको ज्वाइन्ट कम्बाइण्ड एक्सचेन्ज ट्रेनिङ (जेसीईटी) ब्यालेन्स नेलको चालिसौं संस्करणमा सहभागी हुन अमेरिकी सेना आउन लागेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

यो अभ्यास भदौ २४ गतेदेखि असोज १२ गतेसम्म काठमाडौं उपत्यकामा सञ्चालन हुने छ।

नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ।