बैतडीमा सञ्चालित स्वास्थ्य क्लिनिकका सञ्चालक पक्राउ

बैतडी, २१ भदौ । बैतडीको दोगडाकेदार गाउँपालिकामा अवैधरुपमा सञ्चालन गरेको क्लिनिकका सञ्चालक पक्राउ परेका छन् ।

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले अनुगमन गर्दा स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन गरेको पाइएको हो ।

बैतडी विभिन्न स्थानमा सञ्चालित तीनओटा स्वास्थ्य क्लिनिक पनि सिल गरिएका छन् । अनुगमन गर्दा अवैधरुपमा सञ्चालन गरिएको पाइएपछि ती क्लिनिक बन्द गरिएका हुन् ।

अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँस्थित कविर मेडिकल हल, दोगडाकेदार–७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार–३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

पञ्ज्युनयाँस्थित कविर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ । उहाँले भन्नुभयो, “स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेको पाइयो, त्यसैले सञ्चालक कार्कीलाई नियन्त्रणमा लिएका छौँ । यो विषयमा थप अनुसन्धान भइरहेको छ ।”

स्वास्थ्य क्लिनिक सञ्चालकले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिले मेडिकल सञ्चालन गरेको तथा सम्बन्धित निकायमा दर्ता प्रक्रियासमेत पूरा नगरेको पाइएकाले क्लिनिक सिल गरिएका प्रमुख जिल्ला अधिकारी पन्थीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *