कोशीको मुख्यमन्त्रीमा फेरी हिक्मत कार्की नियुक्त
विराटनगर, २२ भदाै । कोशी प्रदेश सरकारको मुख्यमन्त्री पदमा फेरी एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त हुनुभएकाे छ ।
कार्कीले ७० दिनपछि अदालतको परमादेशबाट मुख्यमन्त्री पदमा कार्की नियुक्त हुनुभएकाे हाे । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ दिलाउनुभएकाे छ ।
सर्वोच्च अदालतका न्यायधीशहरु सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बुधबार उद्धव थापालाई मुख्यमन्त्रीबाट पदमुक्त गर्दै कार्कीलाई ४८ घण्टाभित्रै मुख्यमन्त्री बनाउन बिहीबार परमादेश जारी भएकाे थियो ।
कार्कीलाई संविधानको धारा १६८ (३) अन्तर्गत सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश दिएको हो । यसअघि संविधानको धारा १६८ (२) अन्तर्गत २ वा दुईभन्दा बढी दलको समर्थनमा उद्धव थापा मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे ।
सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर ४७ सीट पुर्याउँदै साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गर्नुभएका इस्राइल मन्सुरीलाई समेत मत हाल्न लगाएर बहुमत पुर्याउनुभएकाे थियाे ।