६० किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृतसहित दुई नासु पक्राउ

काठमाडाैं, २३ भदाै । ६० किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृतसहित दुई नासु पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तीन जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिनुभयाे ।
उहाँका अनुसार पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरु वीरेन्द्र नेपाली र कमल परियार रहेका छन् । ब्रेक सु मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई शुक्रबार पक्राउ गरिएको हाे ।
उनीहरूको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । सुन तस्कर प्रकरणमा योसँगै पक्राउ पर्नेको संख्या ३० पुगेको छ ।
राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । राजस्व अनुसन्धान विभागले सुन निकालेर गाल्नुअघि यो सुन ६० किलो ७८९ ग्राम थियो । गाल्दा खेरि सुन ७३ ग्राम घटेको ६० किलो ७१६ ग्राम भएकाे थियाे ।
यस प्रकरणको अनुसन्धान सुरूमा राजश्व अनुसन्धान विभागले अघि बढाएको थियो। तर पछि विभागले सिआइबीलाई थप अनुसन्धानको जिम्मा दिएको थियो।