कान्तिमा बालिका मृत्यु प्रकरण, दोषीमाथि कारबाही हुन्छ : मन्त्री बस्नेत

काठमाडौं, २४ भदौ । स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा भएकाे बालिका मृत्यु प्रकरणमा कसेकाे गल्ती भएमा दोषीमाथि कारबाही हुने बताउनुभएकाे छ ।

इजिप्टको भ्रमण सकेर आज स्वदेश फर्किनुभएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै घटनाका दोषीमाथि कारबाही हुने बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयो, “उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु । मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ । जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ ।”

केही दिन पहिले कान्ति बाल अस्पतालमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको थियाे ।

मन्त्री बस्नेतले इजिप्टको कायरोमा सम्पन्न सम्मेलनमा जनसङख्या बसाइँसराइँ र अव्यवस्थित बसोबासका कारण स्वास्थ्य क्षेत्रमा परिरहेको समस्या र ती समस्या समाधानका उपायहरुका विषयमा वृहत छलफल भएको समेत जानकारी दिनुभयो ।

जनसङ्ख्या र स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्दै एकैसाथ अघि बढाउन सकिए अन्य क्षेत्रको पनि विकास हुने उहाँको भनाइ छ । इजिप्टका स्वास्थ्य मन्त्रीले यसको आवश्यकतालाई ध्यानमा राखेर अर्को वर्ष पनि यो कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।