आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन : दिवंगत बुबाको नाममा गोकर्णेश्वरमा तर्पण दिनेकाे घुइँचो

काठमाडौं, २८ भदाै । हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रहँदै आएकाे छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको पाइन्छ ।

हिन्दु धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानेर पूजा गर्ने गर्छन् । आज कुशको पूजाआजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औँसीमध्ये आजको औँसीलाई कुशे औँसी भन्ने गरिएको हो ।

भाद्र कृष्ण औँसीका दिन आज बाबुको मुख हेर्ने दिन पनि भनिन्छ ।आजका दिन छोराछोरीहरूले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्ड दान तथा श्राद्ध गरी सिधा दिन्छन् । आजको दिन विशेष गरी उत्तर गया भनेर चिनिने काठमाडौंको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । उक्त मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिधा दान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने धर्मग्रन्थमा उल्लेख गरिएकाे छ ।