गैरीगाउँ हत्या प्रकरण : पुरानो दुस्मनीको बदला लिन घटाएकाे घटनामा पोल खुल्ने डरले सबैकाे हत्या

काठमाडौं, ३१ भदाै । काठमाडौंको तीनकुनेस्थित काठ मिलमा चार जनाकाे सामूहिक हत्यामा प्रहरीले सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ ।

हत्याराकाे मृत्यु भएका नवीन राईसँगको पुरानो दुस्मनीको बदला लिन उक्त घटना घटाइएकाे खुलेको हो । घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेर आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

हत्यारालाई केही समयअघि चाबहिलमा नवीन राई सवार मोटरसाइकलले ठक्कर दिएको र सोही क्रममा विवाद भएर रिसिईबी बढेको र त्यसकै निहुँमा उनी बसेको स्थान फेला पारेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । हत्यारा सञ्जय भण्डारी बोल्न नसक्ने भएका कारण सांकेतिक भाषामा कुरा गर्छन् ।

हत्याराकाे नवीनसँग मात्रै दुष्मनी भएपनि पोल खुल्न डरले उनले अन्य तीन जनाको पनि हत्या गरेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयाे ।

शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित उनकी पत्नी अम्बिका भुजेल र उनकी आमा करिब ७० वर्षीय सुमित्रा भुजेलको बिभत्स हत्या भएको थियो ।