तीजमा झगडा हुँदा चक्कु प्रहार गरी पाल्पामा एक जनाको हत्या, चार जना पक्राउ

रुपन्देही, १ असाेज । पाल्पाको तिनाउमा एक जनाको चक्कु प्रहार गरी हत्या भएको छ । तीजको गीतमा नाच्ने विषयलाई लिएर झगडा हुँदा एक युवकले ज्यान गुमाएकाे हाे ।

गएराती तिनाउ गाउँपालिका-२ दोभान, घोडेबासमा नाच्ने विषयलाई लिएर विवाद हुँदा २४ वर्षीय सुनिल खत्रीमाथि चक्कु प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए ।

स्थानीय एक घरमा भेला भएर तीज गीतमा नाच्नेक्रममा सामान्य झगडा हुँदा राति साढे १२ बजे ती युवकमाथि धारिलो हतियार चक्कु प्रहार भएको थियो । प्रहरीले उक्त घटनामा संलग्न रहेको भन्दै ४ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

गम्भीर घाइते खत्रीलाई उपचारका लागि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको सूचना अधिकारी प्रनि चन्दले बताउनुभयाे ।

हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।