आज ऋषिपञ्चमी, व्रतालु महिलाहरूले सप्तऋषिको पूजा गरी मनाइँदै

काठमाडौं, २ असोज । आज ऋषिपञ्चमी पर्व हिन्दु नेपाली नारीहरुले सप्तऋषिको पूजा गरी मनाउँदैछन् ।

आज बिहान १० बजेर ४९ मिनेटमा चतुर्थी तिथि सकिएर पञ्चमी तिथि सुरु हुने भएकाले ऋषिपञ्चमीका व्रतालुले आज ऋषिपञ्चमी पर्व मनाइएकाे हाे ।

यस पर्व महिलाहरुले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । स्नानपछि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गरिन्छ ।

ऋषिपञ्चमीको दिन सप्त ऋषिको पूजा आराधना गर्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रहेकाे छ ।
यस अवसरमा नजिकको नदी, खोला, ताल, तलैया र पोखरी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा गर्ने श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ ।