सुनको सिक्री लुटपाट गर्ने चार जना पक्राउ

काठमाडौं, २ असोज । घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने चारजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेकाे हाे ।

पक्राउ पर्नेमा बागबजार घर भइ सितापाइला बस्ने ४४ वर्षीय सुरज गुरुङ, पर्सा वीरगन्ज घर भइ हाल क्षेत्रपाटी बस्ने ४८ वर्षीय अनवर हुसेन अन्सारी छन् । साथै अन्य दुई जना भारतीय नागरिकहरु पश्चिम बङ्गालका ४७ वर्षीय शक्ति भौमिक र महाराष्ट्र राज्य सोलापुरका ३० वर्षीय सचिन गाड्वे रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार गत भदौ २५ गते उनीहरुले कुलेश्वर आवास क्षेत्र नजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी काभ्रे पाँचखालकी अफ्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी दुई तोलाको लकेटसहितको सिक्री लुटपाट गरेका थिए ।

अनुसन्धानका क्रममा काठमाडौँ महानगरपालिका–२८ बागबजार घर भई हाल सीतापाइला बस्ने ४४ वर्षीय सुरज गुरुङ समेतका मानिसहरुको संलग्नता रहेको भन्ने खुल्न आएपछि निजहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई लुटपाट गरी लगेको सुन तथा प्रमाण लाग्ने अन्य दसीका सामानहरुसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *