बिरामीको मृत्यु पश्चात पाेखराकाे मणिपाल अस्पताल तनावग्रस्त
कास्की, ८ असोज । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ ।
लमजुङकी ५७ वर्षीया सुकमाया दुराको अस्पतालमा मृत्यु भएपछि आफन्तजन आक्रोशित बनेका हुन । आजै बिहान मात्र ल्याइएकी दुराकाे उपचारका क्रममा बिरामीको अवस्थाबारे कुनै जानकारी नदिइएको र अस्पतालकै लापरबाहीका कारण मृत्यु भएको आफन्तहरूले आरोप लगाएका छन् ।
बिरामीका आफन्तहरूले उपचारमा संलग्न चिकित्सकमाथि नै हातपात गरेपछि अस्पतालमा अहिले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
आक्रोशित भीडले अस्पतालको ढोकाको सिसासमेत फुटाएको प्रहरीले जनाएको छ । चिकित्सकमाथि हातपात भएको भन्दै स्वास्थ्यकर्मीले पनि विरोध जनाइरहेका छन् । अस्पताल प्रशासन र दिवङ्गत दुराका आफन्तबीच वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहितको वार्ता कुनै टुङ्गोमा नपुगेको जनाइएको छ । अस्पतालको अवस्था नियन्त्रणबाहिर नजाओस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रवक्ता विकले बताउनुभयो । अस्पताल व्यवस्थापनले घटनाको यथार्थ छिट्टै सार्वजनिक गरिने जनाएको छ ।