फुटपाथ व्यवस्थापनमा केन्द्रको सरकारको पनि समन्वय आवश्यक छः उपमेयर डंगोल
काठमाडौं, ८ असोज । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फुटपाथ व्यवस्थापनका लागि दबाब भन्दा पनि सुझावको बढी आवश्यकता रहेको बताउनु भएको छ । काठमाडौं महानगरपालिकाको फुटपाथ व्यवस्थापनका विषयमा विभिन्न खाले चर्चा भैरहेका बेला डंगोलले यस्तो आग्रह गर्नुभएको हो । ‘फुटपाथ व्यवस्थापनका लागि कुनै पनि सुझाव छन भने दिनुहोला ।
तपाईंहरुको सुझावका लागि महानगरपालिकाको ढोका सधैं खुला छ,’ उहाँले भन्नुभयो । हामीलाई दबाब होइन सुझावको आवश्यकता छ । तपाईंहरुका सुझावलाई हामी कार्यान्वयनका लागि सक्दो प्रयास गर्ने छौँ ।’
उहाँले फुटपाथको व्यवस्थापन काठमाडौं काठमाडौं महानगर पालिकाको मात्रै नभई मुलुका सबै सहरहरुले भोगिरहेको समस्या भएको पनि उल्लेख गर्नुभयो । ‘यो समस्या काठमाडौं महानगरपालिकाको मात्रै होइन । त्यसैले यो समस्यालाई केन्द्र सरकारले पनि विषेश महत्वका साथ हेर्नुपर्छ र त्यसका लागि एकीकृत नीति–नियम बनाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यसो भयो भने मात्रै मुलुकभरीकै सहरका फुटपाथ व्यापारको एकीकृत समाधान खोज्न सकिन्छ । म केन्द्र सरकारलाई यो आग्रह गर्न चाहन्छु ।’
उहाँले त्यसका लागि सहकार्य गर्न काठमाडौं महानगर तयार रहेको पनि बताउनुभयो । ‘एउटा सहर र महानगर केन्द्रित भएर यो समस्याको दीगो समाधान गर्न सकिँदैन,’ उहाँले भन्नुभयो, ‘यो धेरै अघिदेखिको समस्या हो । पहिला किन समाधान गरिएन होइन अब दीगो रुपमा समाधान गर्नतर्फ सबै लागौँ ।’
डंगोलले काठमाडौं महानगर केन्द्रको राजधानीको समेत महानगर भएको भन्दै यहाँ ७७ वटै जिल्ला र ७ सय ५२ वटै पालिकाका नागरिक विभिन्न पेशा–व्यवसायका लागि आएका हुने भएकाले यहाँको समस्या समाधानका लागि थप महत्वका साथ केन्द्र सरकारले हेर्नु पर्नेमा हउाँको जोड छ ।
‘अधिकांश समस्या समाधानका लागि केन्द्र सरकारको पनि समन्वय आवश्यक हुन्छ,’ उहाँले भन्नुभयो ।’ डंगोलले आफ्नो चुनावी घोषणापत्रको स्मरण पनि गराउनु भयो । उहाँले आफ्नो चुनावी घोषणापत्रमा निश्चित स्थानमा सडक बजार निश्चित समयका लागि सञ्चालन गर्न दिइने उल्लेख गर्नुभएको छ । उहाँले विभिन्न स्थानमा रात्रीकालिन बजार प्रर्वद्धन गरिने कुरालाई पनि घोषणापत्रमा उल्लेख गर्नुभएको छ ।