बाराको पचरौतामा दुई दिनमै २ जनाको हत्या
जनकपुरधाम, १० असोज । बाराको पचरौता नगरपालिकामा दुईदिन भित्रै दुईजनाको हत्या भएको छ ।
मंगलबार साँझ भारतको मोतिहारी, दर्पा थाना–१ , सुक्लहिया गाँउका २२ वर्षीय अजितकुमार सिंहको गोली हानेर हत्या भएको छ ।
दशगजा क्षेत्र पचरौता नगरपालिका ६ लक्ष्मिनिया नजिक सिंहलाई दुईवटा मोटरसाइकलमा आएका चारजना युवकले गोली प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बाराका प्रहरी प्रवक्ता डिएसपी दवीराम न्यौपानेका अनुसार मृतक अजितकुमार सिंहसँगै भारतको मोतिहारी जिल्ला, दर्पा थाना-१ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चञ्चल पाञ्डे, २२ वर्षीय मनिषकुमार सहनी र २० वर्षीय कामेश्वर सहनी दुईवटा अनटेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए । घट्नास्थलबाट एक थान गोली र एक थान गोलीको खोका बरामद भएको छ ।
त्यस्तै गत आइतबार राति बाराको पचरौता नगरपालिका १ सीमा नजिकै धारिलो हतियार प्रहार गरी पूर्वसशस्त्र प्रहरी जवानको हत्या भएको थियो । पूर्वप्रहरी ३४ वर्षीय अमरेशकुमार सिंहको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला परेको थियो ।