श्रोत नखुलेकाे १० लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ

रुपन्देही, १५ असोज । रुपन्देहीबाट सशस्त्र प्रहरीले १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेकाे छ ।

सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट प्रहरीले श्रोत नखुलेकाे उक्त रूपैयाँसहित तीन जनालाई पक्राउ गरेकाे हाे ।

सशस्त्र प्रहरीले भारतको महाराजगञ्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठीलाई पक्राउ गरेकाे जनाएकाे छ ।

सशस्त्र प्रहरीबल नेपालका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यानमा सवार उनीहरुको साथमा फेला परेको भारतीय रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका राजु कौशलको साथमा ९ लाख रुपैयाँ तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा १ लाख रुपैयाँ फेला परेको डीएसपी थापाले बताउनुभयाे । पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ ।