स्याङ्जाका अहेब बिन्दु कोइरालाले गैरकानुनी रूपमा ९० लाख बढी सम्पत्ति कमाएको अभियोगमा मुद्दा दर्ता
काठमाडाैं, १९ असाेज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्याङ्जाका सिनियर अहेब बिन्दु कोइरालाले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अहेब कोइरालाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले कोइरालाविरूद्ध ९० लाख ३९ हजार छ सय २० रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ। सिनियर अहेब कोइराला सरकारी सेवामा रहँदा २०५४ कात्तिक ५ गतेदेखि २०७८ मंसिर १ गतेसम्म आर्जन गरेको सम्पत्तिको विषयमा आयोगले अनुसन्धान गरेको हाे।
सो अवधिमा कोइरालाले दुई करोड ९७ लाख ८१ हजार आठ सय दुई रुपैयाँ बराबरको आय आर्जन गरेको पाइएको छ। सोही अवधिमा सिनियर अहेब कोइरालाले तीन करोड ८८ लाख २१ हजार चार सय २२ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानको क्रममा फेला परेको आयोगले जनाएको छ।
कूल आयभन्दा खर्च तथा लगानी बढी रहेको तथा त्यसको स्रोतसमेत नखुलेको पाइएपछि आयोगले मिहिन रूपमा छानबिन गर्दा अनियमितता देखिन गएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयाे ।
सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता कोइरालाको नाममा बैंकमा जम्मा गरेको पाइएको छ। स्रोत पुष्टि हुन नसकेको सम्पत्ति जफत गरी बिगो बमोजिम कारवाहीको माग दावी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता दाहालले जानकारी दिनुभयो।