परराष्ट्रले तोक्यो इजरायलमा रहेका नेपालीलाई सहजीकरण गर्ने सम्पर्क व्यक्ति
काठमाडौं, २२ असोज । प्यालेस्टाइनी लडाकु समूह हमासकाे आक्रमणले इजरायल अहिले अशान्त बनेकाे छ । इजरायल अशान्त बनेपछि त्यहाँ रहेका नेपालीहरूलाई उद्धार र सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले सम्पर्क व्यक्ति तोकेको छ ।
शनिबारदेखि सुरु भएकाे आक्रमणमा रोजगार र अध्ययनका लागि इजरायल पुगेका केही नेपाली समेत परेपछि परराष्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि प्रवक्ता सेवा लम्सालसहितका ६ जनालाई व्यक्ति तोकेको हो ।
सम्पर्क व्यक्तिमा परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको छ ।
यस्तै इजरायलस्थित तल अबिवमा रहेको नेपाली राजदूतावासमा रहेका राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क व्यक्ति तोकेको छ ।
मन्त्रालयले सम्पर्क व्यक्तिकाे सम्पर्क नम्बरसहित दूतावासको ईमेलसमेत राखेर अप्ठ्याराे परिस्थिती झेलिरहेका नेपालीहरूलाई सम्पर्कमा आउन आह्वान गरेकाे छ ।