जमुनाह नाकामा दसैँ मनाउन घर फर्किनेको लर्को

बाँके, २६ असोज । रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपालीहरू दसैँ नजकिएसँगै घर फर्किने क्रम सुरु भएको छ ।

नेपालगन्जस्थित जमुनाहनाकामा भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीहरूको प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको हो ।

दैनिक दुई हजारदेखि दुई हजार पाँच सय जनासम्म भारतमा काम गर्ने नेपाली दाजुभाइ जमुनाहनाका हुँदै दसैँ मनाउन घर फर्किने गरेको जमुनाह इलाका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले जानकारी दिनुभयो ।

“केही दिनयता भारतमा काम गरी घर फर्किने नेपालीहरूको सङ्ख्या ह्वात्तै बढेको छ”, उहाँले भन्नुभयो, “बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म जुमनाहनाकामा घर फर्किने नेपालीको भीड हुने गरेको छ ।”

जमुनाह नाकामा भेटिनुभएका जाजरकोट बारेकोट गाउँपालिकाका भीमबहादुर गिरीले भारतको सिमलामा रोजगारी गरेर दसैँ मनाउन घर फर्किएको बताउनुभयो । गत वर्ष दसैँ–तिहार मनाएर मङ्सिरमा रोजगारीका लागि सिमला पुग्नुभएका उहाँले घरपरिवारलाई लत्ताकपडा र दसैँ खर्च लिएर घर फर्किएको जानकारी दिनुुभयो । धेरै रुपैयाँ कमाउन नसके पनि जसोतसो खर्चको जोहो गरेको गिरीको भनाइ थियो ।

दसैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सिमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ । सल्यानको शारदा नगरपालिकाको हिउल्चा गाउँका भरत विकले वर्षभरि परदेशमा काम गरेर दिन बिते पनि दसैँमा भने सधैँ घर फर्किने गरेको बताउनुभयो । भारतकै सिमलामा मजदुरी काम गर्ने जाजरकोट र सल्यानका मात्रै २५ घरपरिवार दसैँ मनाउन बिहीबार घर फर्किएका छन् । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायत जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् ।

दसैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाटका घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतबाट घर फर्किने नेपालीलाई लक्ष्य गरी जमुनाहनाकामा नेपाल प्रहरीले नागरिक सहायताकक्ष स्थापना गरेर काम गरिरहेको छ ।