४५ वर्षपछि पुनःस्थापना गरिँदै पचली भैरवको याेसिं: उठाउने जात्रा

काठमाडौँ, २७ असोज । पचली भैरवको याेसिं: ठड्याउने जात्रा ४५ वर्षपछि सुरू भएकाे छ । विविध कारणले ४५ वर्ष अघि बन्द भएको जात्रा यस वर्ष पुनःस्थापित गरिएकाे हाे ।

जात्राका लागि साँखुमाथिको जङ्गलबाट याेसिं:का लागि रुख काटेर ल्याइएको पचली भैरवका गुठियार कुमार रञ्जितकारले जानकारी दिनुभयो ।

आश्विन शुक्ल चौथीका दिन दसैँ आउन लागेको जानकारी दिन याेसिं: ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको हो ।

याेसिं: उठाउने साइत भने शनिबार गुरुजुले निकाल्ने पनि उहाँले बताउनुभयो । विभिन्न कारणले साढे चार दशकअघि रोकिएको यो परम्परालाई पुनःसुरु गर्न रञ्जितकार समुदायका युवा लागेको पनि गुठियार रञ्जितकारले बताउनुभयाे ।

जात्राका लागि याेसिं:को रुख काट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतका निकायबाट आदेश पूरा गरेर याेसिं: टेकु पुर्याइएकाे छ । आश्विन शुक्ल चौथीका दिन याेसिं: उठाएपछि टेकुबाट सुरु गरी ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म जात्रा हुने परम्परा रहेको छ । यी क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा गर्ने प्राचीनकालदेखिको परम्परा छ ।

अष्टमीका दिन दसैँको विशेष रौनक सुरु हुँदा याेसिं: ढालिन्छ । मल्लराजा जयराम मल्लले यो जात्राको सुरुआत गरेको विश्वास गरिन्छ । उहाँलाई थकु जुजु भनी यो जात्राका क्रममा पूजा गर्ने गरिएको छ । श्री पचली भैरव आजु यो सिं गुठीले यो जात्राको व्यवस्थापन गर्दै आएको छ ।