भक्तपुर प्रहरीद्धारा लागूपदार्थसहित मानिसहरू पक्राउ

भक्तपुर, ३० असाेज । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको चेकिङ टोलीले विभिन्न सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा लागूपदार्थसहित मानिसहरू पक्राउ गरेका छन् ।

प्रहरीले भक्तपुर नगरपालिका वडा नं. २ सानोव्यासी औद्योगिक क्षेत्र अगाडि चेकजाँच गर्ने क्रममा देकोचाबाट कालोपाटीमोडतर्फ जाँदै गरेको बा. प्रदेश ०२–०३४ प. २३२५ नं. को स्कुटी चालक जिल्लाकै सूर्यविनायक नगरपालिका वडा नं. ६ सूर्यविनायक बस्ने वर्ष २८ को सुशान्त अवालको स्कुटीको डिकीबाट नोर्फिन – ४५ एम्पुल, डाईजोपाम – ४५ एम्पुल, फेनेरागन – ४५ एम्पुल, प्रयोग नभएको सिरिन्ज – १ थान र प्रयोग भएको सिरिन्ज – ६ थान लागू औषध फेलापारी स्कुटी सहित नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखिएको थियो ।

त्यसबारे थप अनुसन्धान गर्दा सोमबार तीन बजेको समयमा जिल्लाकै मध्यपुर ठिमी नगरपालिका वडा नं.३ बाट सप्तरी बोदेबसैन नगरपालिका वडा नं. ६ घर भई हाल काठमाण्डौं गौशला बस्ने बर्ष २६ को कृष्णकुमार दास र सप्तरी बलानव्युल गाँउपालिका वडा नं. २ घर भई हाल काठमाण्डौं सिनामंगल बस्ने बर्ष २७ को दिपेन्द्रकुमार यादवलाई विभिन्न लागूपदार्थसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अनुसन्धान गर्दा सगैँ काम गर्ने सप्तरी बोदेबसैन नगरपालिका वडा नं. ६ घर भई हाल काठमाण्डौं सामाखुसी बस्ने वर्ष ३९ को जितेन्द्रकुमार रमनलाई नियन्त्रणमा लिई प्रहरी परिसर भक्तपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।