सेना–प्रहरी नोकरीमा भूतपूर्व भए पनि देशको सेवामा कहिल्यै भूतपूर्व हुँदैनन्ः ओली

काठमाडौँ, १ कात्तिक । नेकपा (एमालेंं)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र प्रतिको कर्तव्य कहिल्यै पनि पूरा नहुने बताउनुभएको छ। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । सेना र प्रहरी नोकरीमा भूतपूर्व भए पनि देशको सेवामा कहिल्यै पनि भूतपूर्व नहुने उहाँको भनाई थियो ।

नेकपा एमाले समृद्ध नेपाल साकार पार्छौ भन्ने सङ्कल्पसाथ हिँडेको पार्टी भएको भन्दै उहाँले एमाले कार्यकर्ता सधैँ खुसी हुने र उत्सव मनाउने बताउनुभयो ।

‘जसले दुःख कष्ट बढी बेहोरेको छ त्यसलाई सुखको छुट्टै आनन्द हुन्छ,’ उहाँले भन्नुभयो, ‘नेपाली नागरिकले लामो समय दुःख कष्ट भोगेकाले नेपालीलाई सुखको छुट्टै आनन्द आउँछ ।’

उहाँले देशमा धेरै समस्या भएको बताउँदै ओलीले त्यसलाई क्रमशः समाधान गर्दै लैजाने बताउनुभयो । ‘हाम्रो काँधमा जिम्मेवारी छ, त्यसैले त हामी काम गरिरहेका छौँ’, ओलीले भन्नुभयो।

उहाँले अहिले देश अराजकतातर्फ गइरहेको बताउँदै ओलीले यस्तो बेलामा हरेक नागरिकलाई अनुशासन सिकाउन आवश्यक रहेको बताउनुभयो । यस्तो बेलामा अनुशासनको महत्त्व सिकाउन भूतपूर्व सैनिक र प्रहरी संगठन सबैभन्दा उपयुक्त हुने उहाँको भनाइ छ । हरेक नागरिकलाई अनुशासनको पाठ सिकाउन सकियो भने मात्र सभ्य समाज निर्माण हुने ओलीले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न खालका संकीर्णता, गैरजिम्मेवार खालको अभिव्यक्ति र शैली भइरहेको पनि बताउनुभयो । जति अनुशासनहीन भयो, जति उच्छृङखल भयो, जति जथाभावि बोल्यो त्यति नै महान ठान्ने प्रवृत्ति रहेको उहाँको भनाइ थियो । ‘आज समाजमा एउटा प्रवृत्ति छ, जति अनुशासनहीन भयो, जति उच्छृंखल भयो, जति जथाभावी बोल्यो के हुने हो थाहा छैन । महान् हुन खोजेको होला । त्यो प्रवृत्ति छ एउटा,’ ओलीले भन्नुभयो, ‘आफूलाई कुछ देखाउनको लागि अनुशासनह‍ीनताको साहरा लिने प्रवृत्ति बढिरहेको छ । हामीलाई कसै–कसैलाई हुन्छ नि ! सदस्यता लिएको भोलिपल्ट कताकता माथिलो पदमा पुगुँ जस्तो रहेछ, जुन गलत छ ।’ बिरुवा रोपेको भोलिपल्टै रुख नहुने बताउँदै अध्यक्ष ओलीले त्यसले प्रकृतिको नियम पालना गर्दै रुख हुनेगरेको बताउनुभयो ।

कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले एमालेमाथि अहिले चौतर्फी घेरबन्दी र आक्रमण भइरहेको बताउनु भएको थियो ।

‘हामीले संकल्प गरेका छौं । एमालेलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्छ। त्यसको जगमा राष्ट्र निर्माणको काममा अघि बढ्नुपर्छ भनेर हामी लागिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘मुलुकको राष्ट्रियताको पक्षमा एमाले र केपी शर्मा ओली त्यसको नेतृत्वकर्ता हुनुहुन्छ। एमाले सरकारमा हुँदा हामीले देशको शिरलाई उँचो पारेका छौं।’

नेपोनले ‘राष्ट्रिय सुरक्षा, स्वाधिनता र भौगोलिक अखण्डता, भुतपुर्व सुरक्षाकर्मीहरूको हकहित हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) ले बडादसैं, शुभदीपावली, नेपाल सम्बत, छठ पर्व तथा अन्य पर्वहरूको अवसरमा शुभकामना आदान–प्रदान तथा बडा भोज कार्यक्रम–२०८० को आयोजना गरेको नेपोनका अध्यक्ष विनोद पाण्डेले जानकारी दिनुभयो ।