नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित
काठमाडौं, २ कात्तिक । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको हाे ।
हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्याे । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे ।
टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो । हङकङका लागि यासिम मुर्ताजा सर्वाधिक ३६ बनाए ।
त्यस्तै जिशन अलीले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङलाई ९४ रनमा समेट्ने क्रममा नेपालका करण केसीले चार विकेट लिए भने, अविनाश बोहरा र सोमपाल कामीले समान दुई/दुई विकेट लिए । कुशल मल्ल र श्याम ढकाल (मौसम)ले समान एक/एक विकेट लिए ।
बुधबार भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गरेको थियो ।