आज बडादशैं, मान्यजनकाे हातबाट टीका र जमरा लगाएर आशिर्वाद लिँदै

काठमाडौं, ७ कात्तिक । आज नेपालीहरूकाे महान चाड बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट टीका र जमरा लगाइँदैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीकाकाे साइत आज बिहान ११ बजेर २ मिनेटकाे साइत उत्तम रहेको जनाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्छ । दुर्गा बिसर्जन गर्नका लागि समितिले १० बजेट ३७ मिनेटको साइत तोकिदिएको छ ।
कसैलाई टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा बिहान झुल्के घाममै देवी विसर्जन गरेर टीका लगाउने पनि सकिने उनले बताए ।
विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।