चर्चामा आउन थाले ओझेलका पर्यटकीय गन्तव्य
बागलुङ, १४ कात्तिक । पछिल्लो समय बागलुङमा नयाँ नयाँ पर्यटकीय गन्तव्य चर्चामा आउन थालेका छन् । पहिले नै चर्चित रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको पाइन्छ । जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका छन् ।
नयाँ पहिचान भएका पर्यटकीय क्षेत्रमध्ये केहीमा मोटर बाटो, केहीमा पदमार्ग पुगेको छ भने कतिपयमा अहिलेसम्म सामान्य गोरेटो बाटोसमेत बनेका छैनन् । यद्यपि आन्तरिक पर्यटक बाटो बनाउँदै गन्तव्यसम्म पुग्ने गरेका छन् ।
बागलुङ बजार नजिकै रहेको भिरलाँकुरी, निसीखोलाको टाकुरा, तमानखोलाको बराह ताल, नेवारे झरना, नौ बहिनी झरना, ढोरपाटनको जलजलालगायतका ठाउँ पछिल्लो समय चर्चामा आउन थालेका छन् । यी पर्यटकीय ठाउँमध्ये अधिकांशमा अहिले पनि पूर्वाधार बन्न सकेका छैनन् । पर्यटनका हिसाबले बागलुङले सम्भावना बोकेको छ, तर प्रचार–प्रसार र आवश्यक पूर्वाधार निर्माण ढिलाइ गर्दा सोचेअनुसार पर्यटक भित्र्याउन सकेको छैन ।
तीन राष्ट्रिय सडकले जोडिएको बागलुङले बाह्य पर्यटक भने निकै कम मात्रामा भित्र्याउने गरेको छ । ढोरपाटन सिकार आरक्षबाहेक अन्य ठाउँमा विदेशी पर्यटक आएको खासै पाइँदैन । पछिल्लो समय बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा फाट्टफुट्ट बाह्य पर्यटक देख्न थालिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले पूर्व–पश्चिम, कालीगण्डकी करिडोरले चीन–भारत र सालझण्डी–ढोरपाटनले तराई–पहाडलाई जोडेको छ । विगतका वर्षमा भन्दा यस वर्ष पर्यटन यामको सुरुआतमै उल्लेख्य पर्यटक बागलुङमा भित्रिएको र नयाँ ठाउँमा पुग्न थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताउनुभयो ।
पहिलेको तुलनामा पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढ्दै जाँदा ओझेलमा रहेका पर्यटकीय ठाउँ चर्चामा आउन थालेको उहाँको भनाइ छ । केही वर्ष अगाडिसम्म पर्यटकीय सम्भावना बोकेका ठाउँमा पुगे पनि त्यसलाई कसैले पनि बाहिर नल्याएको भन्दै अहिले पुग्ने हरेक व्यक्तिले फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न थालेपछि धेरै ठाउँ चर्चित बन्दै गएको उहाँको भनाइ छ ।
बजार नजिकै भए पनि भिरलाँकुरी अघिल्लो वर्षसम्म गुनामनै थियो तर अहिले दैनिक एक सयको हाराहारीमा पर्यटक पुग्ने गरेको पाइन्छ । बागलुङ बजारबाट हिँडेर करिब ४५ मिनेटमा पुग्न सकिने हुँदा धेरै मान्छे भिरलाँकुरी आउन थालेको स्थानीय सृष्टि आचार्यको भनाइ छ । यहाँबाट बागलुङ बजारसहित थुप्रै हिमशृङ्खला एकैपटक अवलोकन गर्न सकिने हुँदा आन्तरिक पर्यटक आउन थालेको उहाँले बताउनुभयो ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन उत्यकाको पूर्वपट्टि पर्छ जलजला । यहाँ पनि पछिल्लो समय धेरै पर्यटक पुग्ने गरेको स्थानीय वीरबहादुर घर्तीले बताउनुभयो । पहिले–पहिले जलजलामा पर्यटक पुग्ने गरे पनि गत वर्षदेखि अझ बढी जान थालेको उहाँको भनाइ छ । ढोरपाटन उपत्यकाबाट पाखाथर, छेन्तुङगाउँ हुँदै जलजला पुग्ने पर्यटकलाई मोटर बाटोले थप सहज बनाएको उहाँले बताउनुभयो । खाने र बस्ने सुविधाका लागि होटल तथा रेष्टुरेन्ट बढ्दै गएपछि पर्यटक बढेको घर्ती बताउनुहुन्छ ।
“धेरै पर्यटक ढोरबराह मन्दिर र खापाथरसम्म आएरमात्रै फर्किन्थे, तर अहिले टाढा–टाढा पुग्ने गरेका छन्, पर्यटक आउन थालेसँगै होटल व्यवसाय पनि राम्रो हुँदै गएको छ, पहिले जनैपूर्णिमाका बेलामात्रै पर्यटक ढोरपाटन आउँथे, तर अहिले बाह्रै महिना आउने गरेका छन्”, उहाँले भन्नुभयो, “जलजला पुग्न समस्या छैन, सडक बनेको छ, ठाउँ–ठाउँमा गोठ छन्, वरपर जङ्गल र डाँडाकाँडाले पर्यटकलाई आकर्षित गरेको छ, बर्खामा यहाँ थुप्रै गोठ बस्ने गर्छन् ।”