रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्धकाे रिटमा आजदेखि सुनुवाइ
काठमाडौं, २३ कात्तिक । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटकाे सुनुवाइ आज हुने भएको छ।
टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुन लागेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन पारेर सरकारको सिफारिसमा सजाय माफी मिनाहा गरेसँगै गत जेठ १५ मा चौधरी छुटेका थिए ।
सर्वोच्चले चौधरीलाई कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्ने तल्लो तहका अदालतको फैसला सदर गरेको थियो। तर उक्त फैसलाको पूर्ण पाठ नआउँदै कैद मिनाहा गरिएको थियो। त्यसपछि आएको पूर्णपाठमा सर्वोच्चले अपराधको राजनीतीकरण गरी मुद्दा फिर्ता लिने प्रयास गर्नु र उन्मुक्ति दिनु गलत हुने उल्लेख गरेको थियो।
मंगलवार मात्रै थप तीन जना विरुद्ध पनि रिट दर्ता भएको छ । टिकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका अन्य ४ चार जनालाई सरकारले असोज ३ गते रिहा गरेको थियो । ती मध्ये एक नाबालक हुन । नाबालक बाहक अन्य तीन जना विरुद्ध पनि रिट परेको थियो ।
चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा गत जेठ १६ गते परेको रिटमा कडायतले राष्ट्रपतिको निर्णय खारेज गरेर चौधरीलाई पूरै कैद भुक्तान गराउन आदेशको माग गरेकी छन्। रिटमा राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद्, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाइएको छ।