बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट युवक घाइते

बाँके, ३० कात्तिक । बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् ।

कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् । विकलाई आज बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

घाइते विकको नेपालगञ्जस्थित नर्सिङहोममा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताउनुभयो । हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।